बैतडी –बैतडीको पाटनमा अन्तरपुस्ता सम्वाद सम्पन्न भएको छ । अक्सफाम नेपाल, युवालय र वाम संस्थाको आयोजना तथा पाटन नगरपालिकाको समन्वयमा शुक्रबार अन्तरपुस्ता सम्वाद सम्पन्न भएको हो ।
युवाहरुका लागि बनेका नीति, स्थानीय सरकारले युवाहरुका लागि सञ्चालन गरिरहेका कार्यक्रम र आगामी दिनमा सञ्चालन गर्नुपर्ने कार्यक्रमका बारेमा सबै उमेर समूहका मानिसहरुलाई जानकारी गराउन सम्वादको आयोजना गरिएको युवालयकी जिल्ला संयोजक कमला बिष्टले बताइन् । युवाहरुका सवालका बारेमा सबै उमेरका समूहका नागरिकलाई जोड्न सहज होस भनेर सम्वाद सञ्चालन गरिएको उनले बताइन् ।
स्थानीय सरकारहरुले युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने र त्यस्ता खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । युवाहरु अहिले पनि रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता कायमै रहेकाले उनीहरुलाई रोजगारीसंग जोड्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा सम्वाद कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
स्थानीय सरकारहरुले युवा रोजगारी सिर्जना गर्ने खालका नीति बनाइ त्यस्ता खालका कार्यक्रम सञ्चालन हुनुपर्नेमा सम्वादमा सहभागी युवाहरुको जोड छ ।
अन्तरपुस्ता सम्वादमा बोल्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले युवाहरुलाई लक्षित गरेर नगरपालिकाले कार्यक्रम ल्याएको दाबी गरे । आगामी दिनमा युवाहरुका मागलाई सम्बोधन गर्ने खालका कार्यक्रम ल्याउने उनले बताए । युवाहरुलाई रोजगारीसंग जोड्ने खालका कार्यक्रममा आफूहरुले प्राथमिकता दिएको उनले बताए ।
यस्तै अन्तरपुस्ता सम्वादमा बोल्दै पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले नगरपालिकाको नीति तथा कार्यक्रममा युवा लक्षित कार्यक्रम समेटिएका बताए । युवाहरुलाई सहयोग पुग्ने खालका योजना र कार्यक्रम ल्याउने उनले बताए ।




