दार्चुला –शुक्रवार रातीदेखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पु¥याएको छ । बाढीले करिब डेढ दर्जन घर बगाएको स्थानीय एवं उद्योग वाणिज्य सङ्घ दार्चुलाका पूर्व अध्यक्ष मङ्गल ठगुन्नाले बताए । लास्कु खोलामा आएको बाढीले क्षति पुर्याएको उनले बताए । लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् । मानिसहरू सबै राती देखि नै घरबाहिर निस्किएका छन् ।
बाढीले केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए । उद्धार कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको उनले बताए । रोकेर राखिएका केही यातायातका साधनसमेत बगाएको स्थानीय चक्र बमले बताए । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
लगातारको बर्षाका कारण लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ । नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ ।
दार्चुला टिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुल बगाएको छ । कटान अझै जारी छ । बर्षा नरोकिए थप क्षति हुन सक्ने आँकलन गरिएको छ ।




