Sagun Khabar
लैंगिक हिंसा रोकथामका लागि बैतडीका विद्यालयमा कक्षा 

बैतडी –लैंगिक हिंसा रोकथामका लागि बैतडीका विभिन्न विद्यालयहरुमा रुपान्तरण कक्षा सञ्चालनमा ल्याइएको छ । दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका विभिन्न विद्यालयमा रुपान्तरण कक्षा सञ्चालनमा ल्याइएको हो । 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा आइफास, भिसओ, पिसवीन नेपालले विद्यालयहरुमा रुपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यक्रम संयोजक खगेन्द्र भट्टले जानकारी दिए । 

बैतडीमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको दोश्रो चरण अन्तर्गत दुवै पालिकामा रुपान्तरण कक्षा सञ्चालन भइरहेका जानकारी दिइएको छ । परियोजना व्यवस्थापन समितिको बैठकमा भट्टले रुपान्तरण कक्षा मार्फत लैंगिक हिंसा न्यूनीकरणका लागि प्रयास भइरहेको बताए । 

यस्तै लैंगिक हिंसा न्यूनीकरणका लागि जोडी सम्वाद लगायतका कार्यक्रम समेत सञ्चालनमा रहेका उनले बताए । नगरपालिकाहरुसंगको समन्वयमा परियोजनाले काम गरिरहेको पीसवीनका कार्यक्रम संयोजक जुद्ध रावलले बताए । 

समुदायमा रहेका विभिन्न खालका हानिकार प्रथा प्रचलनका अन्त्यका लागि परियोजना मार्फत काम भइरहेको उनले बताए । लैंगिक हिंसा रोकथाम र प्रतिकार्य दुवै क्षेत्रमा परियोजनाले काम गरिरहेको रावलले बताए । 

बैठकमा बोल्दै दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले समाजमा हिंसामा परेका मानिसहरुलाई खुलेर आउन सहयोग मिलेको बताए । हिंसा रहित समाज निर्माणमा परियोजनाको सहयोग रहेको उनले बताए । 

यस्तै पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले परियोजना अन्तर्गत सञ्चालन भइरहेका क्रियाकलापले हिंसा न्यूनीकरणमा सहयोग पुगेको बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update