बैतडी –पछिल्लो समय बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । प्रहरीको तथ्यांकले आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत बर्ष अघिल्लो आर्थिक बर्षको तुलनामा आत्महत्या गर्नेको संख्या केही घटेको भएपनि आत्महत्या गर्ने क्रम भने बढ्दै गएको छ ।
बैतडीमा २०७६÷७७ मा २९ जनाले आत्महत्या गरेका थिए भने आर्थिक बर्ष २०७७÷७८ मा ४२ जनाले आत्महत्या गरेका छन् । गएको आर्थिक बर्ष २०७८÷७९ मा ३६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।
विभिन्न पारिवारिक र सामाजिक कारण तथा प्रेमका कारण पनि आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनले भने ‘आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा छ । विभिन्न पारिवारिक कलह,मानसिक तनाव, प्रेममा धोका लगायतका कारणले यस्ता मान्छेहरुको संख्या बढ्दै गएको छ ।’
आत्महत्या गर्नेहरुमा मानसिक स्वास्थ्यको समस्या हुने भएकाले यो तर्फ ध्यान दिनुपर्ने पाटन नगरपालिकाका जनस्वास्थ्य निरीक्षक दमन्ती ऐरले बताइन् । उनले भनिन् ‘मानिस आत्महत्या गर्ने अवस्था सम्म किन पुग्छ ? यो बिषयमा खोजबीन गर्नु र मानसिक स्वास्थ्यका कार्यक्रम चलाउनु आवश्यक छ ।’




