बैतडी –बैतडीमा लामो समयदेखि महंगो मूल्यमा पेट्रोल किन्दै आएका ग्राहकहरुले आजदेखि राहत पाएका छन् । जिल्लाको सतबाँझमा रहेको एक मात्र भण्डारी आयल स्टोरबाट पेट्रोल विक्रि शुरु भएपछि स्थानीयहरुलाई सहज भएको हो ।
बजारमा २ सय ३० देखि अढाइ सय प्रतिलिटर पेट्रोल किन्न बाध्य भएका ग्राहकहरुले अब प्रतिलिटर एक सय ८९ रुपैंयामा पेट्रोल किन्न पाउने भएका हुन् । भण्डारी आयल स्टोरबाट पाँच बर्षपछि पेट्रोल विक्रि गर्ने कार्य सुचारु भएको हो ।
स्थानीय प्रशासनको बिशेष सक्रियता र नेपाल आयल निगमको क्षेत्रीय कार्यालय धनगढीको समन्वयमा पेट्रोल पम्पबाट पेट्रोल विक्रि गर्ने कार्य सुचारु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
पेट्रोलमा कालोबजारी भइरहेको बिषयमा व्यपाक जनगुनासो आएको र सो जनगुनासोलाई सम्बोधन गर्नका लागि पेट्रोल पम्पबाट पेट्रोल विक्रि गर्ने वातावरण मिलाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने ‘हामीले हरेक क्षेत्रमा हुने कालोबजारी रोकथामका लागि काम गरिरहेका छौं । पेट्रोलियम पदार्थ हुने कालोबजारी रोक्न लागि पेट्रोल पम्पबाट पेट्रोल विक्रि वितरणको काम शुरु गरेका छौं ।’
जिल्लामा पेट्रोलमा भइरहेको कालोबजारी हटाउने प्रतिबद्धता व्यक्त गरेका प्रमुख जिल्ला अधिकारी पन्थीले आफ्नो प्रतिबद्धता पूरा गरेका छन् । पेट्रोल पम्पबाटै पेट्रोल पाइने भएपछि स्थानीयहरु निकै खुसी भएका छन् ।
५ बर्षपछि पेट्रोल पम्पमा पेट्रोल पाइन थालेपछि निकै खुसी लागेको पाटनका स्थानीय समेत रहेका पत्रकार वसन्त बिष्टले बताए । पेट्रोलमा कालोबजारी भइरहेको बिषयमा लामो समयदेखि आवाज उठीरहेको भएपनि अहिले आएर नागरिकको गुनासो सम्बोधन भएको छ ।




