बैतडी – सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा बैतडीको खोड्पेमा आयोजना गरिएको डेउडा प्रतियोगिता शनिबार सम्पन्न भएको छ । यही भदौ २३ गतेदेखि शुरु भएको प्रतियोगिता सम्पन्न भएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए ।
उक्त डेउडा प्रतियोगितामा पुरुष तर्फ भुपेन्द्र पन्त (भाष्कर) र महिला तर्फ सञ्जा नेपाली प्रथम भएका छन् । प्रथम हुने १० हजार नगद सहित सम्मान पत्र प्राप्त गरेका छन् ।
यस्तै पुरुष तर्फ केशव बिष्ट द्वितीय, चेतराज भट्टराई तृतीय र नैनसिंह बोहराले सान्त्वना स्थान प्राप्त गरेका छन् । यस्तै महिला तर्फ गोदावरी पाण्डेय द्वितीय, बासु भट्ट तृतीय र पार्वती भण्डारीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा द्वितीय हुनेले नगद ७ हजार र सम्मान पत्र, तृतीय हुने नगद ५ हजार र सम्मान पत्र र सान्त्वना स्थान प्राप्त गर्नेले नगद २ हजार सम्मान पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ११ पुरुष र २१ महिला गरी ३२ जना ड्यौडियाहरुको सहभागिता रहेको थियो ।
स्थानीय कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष बिष्टले बताए । प्रतियोगिताहरुले समाजमा लुकेर रहेका प्रतिभाहरुको पहिचान गर्न सहयोग मिलेको पाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष कालुसिंह भाटले बताए ।
ड्यौडा प्रतियोगिताले स्थानीय संस्कृति संरक्षणमा स्थानीय सरकारको उपस्थिती देखिएको पाटन नगरपालिका वडा नं १० का वडा अध्यक्ष धनबहादुर कुँवरले बताए ।
ड्यौडा प्रतियोगिता आयोजक समितिको आयोजनामा सञ्चालनमा भएको ड्यौडा प्रतियोगितामा पाटन नगरपालिका, पाटन नगरपालिका वडा नं ८, ९ र १० तथा स्थानीय व्यापारी व्यवसायीहरुको सहयोग रहेको थियो ।




