बैतडी –नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले आगामी पाँच बर्षभित्र महाकाली नदीमाथि झुलाघाटमा पक्की पुल बन्ने बताएका छन् । सगुन अनलाइन टीभीको सगुन सम्वाद कार्यक्रममा बोल्दै नेपाली कांग्रेसले चुनाव जितेमा पुल बन्ने ठोकुवा गरे । यसअघि आफू मन्त्री हुँदा शुरु गरेका योजनाहरुलाई कम्युनिष्टको सरकार आएपछि अलपत्र पारेको आरोप लगाउँदै केन्द्रिय सदस्य लेखकले नेपाली कांग्रेसले चुनाव जितेमा झुलाघाटमा पक्की पुल बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने ‘हाम्रो पार्टीले चुनाव जित्यो भने हामी झुलाघाटमा पाँच बर्षभित्र पक्की पुल बनाउँछौं ।’
नेता लेखकले महाकाली कोरीडोर कांग्रेसको सरकार भएको बेला अघि बढेको र केपी ओलीको नेतृत्वमा सरकार बनेपछि त्यसलाई अलपत्र पारेको आरोप लगाए । अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यो योजनालाई अघि बढाउन बजेट विनियोजन गरेको उनले बताए ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीमा रहेको बताउँदै नेता लेखकले बैतडीमा कसले टिकट पाउने भन्ने टुंगो लागि नसकेको बताए । गठबन्धन हुने पक्का भएपनि कसको भागमा टिकट पर्ने भन्ने टुंगो नलागेको उनले बताए । उनले भने ‘नेपाली कांग्रेसले टिकट पाउनुपर्दछ भन्ने आम कार्यकर्ताको भावना छ । तर अहिले नै कसले पाउने भन्ने टुंगो लागि सकेको छैन् ।’
अन्य दलको तुलनामा विकासको हिसाबले नेपाली कांग्रेसको नेतृत्वमा विकास भएको उनले दाबी गरे । चुनावको अगाडि नेपाली कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथमा कांग्रेस’अभियानका लागि बैतडी पुगेका नेता लेखकले कांग्रेसले गरेका कामको बारेमा नागरिकलाई अभियान मार्फत जानकारी दिएको बताए ।




