फेसबुकमा दलित भन्दै अपशब्द लेख्ने बैतडीका एक जनालाई दुई महिना कैद
बैतडी- बैतडीमा सामाजिक सञ्जाल फेसबुकमा दलित भन्दै अपशब्द लेख्ने एक जनालाई दुई महिना कैद सजाय सुनाइएको छ।
सामाजिक सञ्जालबाट जातीय अपहेलना हुनेगरी गालीगलौज गरेका जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ का प्रकाश चन्दलाई दुई महिना थुनामा राख्न जिल्ला अदालत बैतडीले फैसला गरेको हो।
चन्दले २०७८ वैशाख ३ गते फेसबुकबाट मेलौली नगरपालिका ५ का बलभद्र दयाललाई नेपालमा दयाल भनेका डुम रहेछन् कि ? जस्तै बलभद्र दयालु भनेर लेखेका थिए। दयालले बैशाख ७ गते उनीविरुद्ध उजुरी दिएका थिए।
अदालतले उनलाई दुई महिना थुना, २५ हजार रुपैयाँ क्षतिपूर्ति र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। चन्द अहिले प्रहरीको फरार सूचीमा रहेका र उनी भारतमा बस्दै आएका बताइएको छ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९ ०९:४१
प्रतिक्रिया दिनुहोस्




