बैतडी –राष्ट्रिय बालदिवस बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । विभिन्न शिक्षण संस्था, बालक्लब र स्थानीय सरकारहरुको पहलमा बाल दिवस मनाइएको हो । जिल्लाको मेलौलीस्थित मणिलेक मावि काँडामा विभिन्न कार्यक्रमको आयोजना गरि बाल दिवस मनाइएको विद्यालयका शिक्षक अर्जुन कुँवरले जानकारी दिए ।
यस्तै पाटन नगरपालिका वडा नं. ९ स्थित सरस्वती आधारभूत विद्यालयमा दिवसको अवसरमा अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्याक दिपेन्द्र पन्तले बताए ।
यस्तै बालदिवसको अवसरमा जिल्लाको दशरथचन्द नगरपालिकामा प्रभातफेरी र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । दशरथचन्द नगरपालिकाको आयोजना र बास नेपालको सहयोगमा प्रभातफेरी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नारा सहित दिवस मनाइएको हो । बालअधिकार थुप्रै कुराहरु गरिए पनि अझै पनि बालबालिकाहरुका हक अधिकार भने प्रत्याभूत हुन नसकेका जानकाहरुले बताएका छन् । बालबालिकाका पक्षमा थुप्रै कानुनहरु बनेका भएपनि तिनको प्रभावकारी कार्यान्वयन अझै हुन नसकेको अधिवक्ता केशवसिंह ऐरले बताए ।




