बैतडी –बैतडीको पाटन नगरपालिकामा अन्तरपालिकास्तरीय समन्वय बैठक सम्पन्न भएको छ । पाटन नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको संयोजनमा बुधबार बैठक सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालयले हरेक महिना फरक पालिकामा गएर पालिका समन्वय बैठक गर्ने गरेकोमा दोस्रो बैठक पाटन नगरपालिकामा सम्पन्न भएको हो । पहिलो बैठक दशरथचन्द नरपालिकामा सम्पन्न भएको थियो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जिल्लामा भएका समस्याबारे स्थानीय तहका जनप्रतिनिधिसंग छलफलका एजेण्डा राखेका थिए । स्थानीय तहले खनेका सडकहरुको रुट परमिट लिनको लागि पहल गर्नुपर्ने, यस्तै बजार अनुगमनमा पनि स्थानीय तहले ध्यान दिनुपर्नेमा प्रमुख जिल्ला अधिकारी पन्थीले जोड दिए । बर्षातका कारण अवरुद्ध भएका सडक खुलाउन पनि पालिकाहरुले पहल गर्नुपर्ने कुरा बैठकमा उठेको छ ।
बैठकले विभिन्न १० ओटा निर्णय पारित गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । पहिलो बैठकले स्थापना गरेको सामुदायिक कोरोना कोष सञ्चालनका लागि बनेको कार्यविधि संशोधन सहित पारित गर्ने र त्यो कोषमा सबै पालिकाले योगदान गर्ने निर्णय भएको छ । कुनै जातजाती वा समुदायलाई होच्याउने खालका गाउँ तथा टोलका नाम भए त्यसलाई तुरुन्तै सच्याउने निर्णय पनि भएको छ ।
आफ्नो पालिकाभित्र सञ्चालन रहेका सडकहरुमा अस्थायी रुट परमिटका लागि पहल गर्ने, स्थानीय तहहरुले सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण र सार्वजनिक परीक्षण गर्ने निर्णय समेत भएको छ ।
यस्तै आफ्नो पालिकाभित्र नयाँ पुस्तालाई लोकसेवा आयोगको परीक्षामा आकर्षण गर्न त्यस्ता खालका कक्षाहरु सञ्चालन गर्ने, आगामी निर्वाचनलाई स्वच्छ, भयरहित र शान्त वातावरणमा सम्पन्न गर्नका लागि सबैले आ –आफ्नो क्षेत्रबाट सहयोग गर्ने निर्णय भएको छ ।
यस्तै अर्को बैठक दोगडाकेदार गाउँपालिकामा गर्ने निर्णय समेत बैठकले गरेको छ ।





