Sagun Khabar
बैतडी विमानस्थल पाटनमा ६ महिनादेखि हवाई उडान बन्द 

बैतडी –सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई उडान छ महिनादेखि बन्द रहेको हो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । यहाँ हवाई उडान नहुँदा आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् ।

बैतडी विमानस्थलमा यात्रुको समस्या र मौसम अनुकुल नहुँदा हवाई उडान बन्द भएको समीट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए । अब दशैंको समयमा उडान सुचारु हुन सक्ने उनले बताए । उनले भने ‘मौसम अनुकुल नहुँदा समस्या भएको छ । त्यसपछि यात्रुहरुको समेत अभाव भएर उडान बन्द भएको हो ।’

चैतपछि केही महिना समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रमा बढी उडान भरिरहेको हुनाले पाटनमा उडान बन्द भएको भट्टको भनाइ छ ।

हवाई उडान नहुँदा आकस्मिकरुपमा बिरामी भएकाहरुलाई सुविधा सम्पन्न अस्पातलमा लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय राकेश जोशीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update