Sagun Khabar
बैतडी प्रदेश सभा (ख) मा कांग्रेसबाट चन्दले पाउलान् त टिकट ? 

बैतडी –आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दलहरुले उम्मेदवारको टुंगो लगाउन थालेका छन् । सत्तारुढ दलहरुबीच गठनबन्धन हुने भएपछि कसले टिकट पाउँछ भन्ने अहिले नै निश्चित भएको छैन् । तर गठबन्धन दलहरुले समेत आफ्ना उम्मेदवारको नाम आफ्ना माथिल्ला कमिटिहरुलाई सिफारिश गरेका छन् । 

नेपाली कांग्रेसले बैतडी प्रदेश सभा (ख) क्षेत्रका लागि तेजबहादुर चन्दको नाम पनि उम्मेदवारका लागि प्रदेश कार्यसमितिलाई सिफारिश गरेको छ । नेपाली कांग्रेसका पूर्व क्षेत्रीय कार्यसमिति सभापति समेत रहेका चन्दलाई उम्मेदवारको रुपमा सिफारिश गरिएको हो । 

नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ प्रदेश सभा (ख) का लागि १८ जनाको नाम सिफारिश गरेको र त्यसमा तेजबहादुर चन्दको नाम पनि सिफारिश गरिएको छ । 

पार्टीले उम्मेदवारको रुपमा आफ्नो नाम सिफारिश गरेकाले टिकट पाउनेमा आफू विश्वस्त रहेको चन्दले बताए । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिको सदस्य समेत रहेका चन्दले पार्टीले युवा उम्मेदवारलाई छान्ने विश्वास व्यक्त गरे । उनले भने ‘मैले पार्टीका लागि विगतदेखि योगदान गरेको छु । सोही योगदानको आधारमा टिकटको दाबी गरेको हुँ । पार्टीले युवालाई अवसर दिनेछ भन्ने विश्वास लिएको छु ।’

कांग्रेस युवा नेता चन्दले बैतडीमा क्रिकेटको क्षेत्रमा पनि सहयोग गर्दै आएका छन् । उनले कला संस्कृतिको संरक्षणका लागि समेत योगदान गरेका छन् । डेउडा गीतको रचनामा पनि रुचि राख्ने चन्दले भाषा, कला र संस्कृतिको संरक्षण भए मात्रै समाजको विकास हुने बताए । आफूले टिकट पाएमा यो क्षेत्रको विकासका लागि पहल गर्ने चन्दले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्