बैतडी –बैतडीको पाटनका किसानहरुले लगाएको धानबालीमा रोग लागेपछि किसानहरु चिन्तित बनेका छन् । नगरपालिकाको वडा नं ६ का विभिन्न स्थानमा धानबालीमा रोग लागेको किसानहरुले बताएका छन् ।
धानबालीमा रोग लागेपछि धानमा बाला समेत नलागेको किसान देवकी पाण्डेयले बताइन् । चार ÷पाँच बर्ष अघि तराईबाट ल्याएको मसिनको धानको जात रोपेकोमा बाला नलागेको उनले बताइन् । अरु बर्ष यो धानले राम्रो उत्पादन दिएको भएपनि यो बर्ष रोग लागेर सखाप भएको उनले सुनाइन् । धानको जातको बिषयमा भने थाहा नभएको उनले बताइन् । उनले भनिन् ‘अरु बर्ष यो मसिनो जातको धानले राम्रो उत्पादन दिएको थियो । तर अहिले रोग लागेपछि समस्या भएको छ ।’
धान भित्र्याउने बेलामा रोगले सखाप पारेपछि किसानहरुलाई निकै चिन्तित बनाएको अर्का स्थानीय किसान दिनेश बिष्टले बताए । धानको बोट सुकेर बाला नै नलागेको उनले बताए । उनले भने ‘धानमा बाला नलागेपछि खेत बाँझै रहेका छन् ।’
पाटन नगरपालिकाको वडा नं ६ लाई धान उत्पादनको पकेट क्षेत्रको रुपमा लिने गरिएको छ । तर किसानहरुले लगाएको धानमा रोग लागेपछि यो बर्ष उत्पादनमा कमी आउने अनुमान गरिएको छ । पाटनमा अढाइ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । धानखेती हुने क्षेत्रको १० प्रतिशत भागमा रोग लागेको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए ।
नगरपालिकामा १५ जना जति किसानहरुले धानबालीमा रोग लागेको भन्दै निवेदन दिएको अवस्थीले बताए । धानबालीमा कुन रोग लागेको भन्ने पत्ता नलागेको उनले बताए । रोग लागेको धानको नमूना प्रयोगशालामा परीक्षणका लागि पठाएको बताइएको छ । कुन जातको धान हो भन्ने पनि यकिन नभएको अवस्थीले बताए । धेरै बर्ष एकै प्रकारको धान रोप्दा समेत समस्या आएको हुन सक्ने उनले बताए । उनले भने ‘किसानहरुले रोपेको धानको जात पत्ता लागेको छैन् । रोगले केही किसानहरुको धानबाली नष्ट भएको छ ।’
रोग सहन सक्ने खालका जात नरोप्दा समस्या हुने गरेको अवस्थीले बताए । पुरानो रैथाने धानका जातहरु भने लोप भइसकेका छन् । नयाँ हाइब्रीड जातका धानमा पनि विभिन्न खालका रोगहरु लागेको किसानहरुले बताएका छन् ।




