बैतडी –स्वास्थ्य सेवा सुधारको माग राख्दै ६ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरेको जनाएको हो ।
चिकित्सक संघका प्रतिनिधिलाई भने डा. केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी टोलीमा राखिएको छ । वार्ता टोली गठनसँगै सरकारले डा. केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।
यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँदे माग राखेर धनगढीमा ६ दिनदेखि अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।




