Sagun Khabar
बैतडीको पाटनले ‘अपहेलित’ गाउँका नाम सच्याउने 

बैतडी –बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्र भित्रका अपहेलित गाउँका नाम सच्याउने भएको छ । कुनै जातजाति बिशेषलाई इंगित गरेर राखिएका अपहेलित नामहरु सच्याउने निर्णय भएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । 

नगरकार्यपालिकाको बैठकले नगर क्षेत्र भित्रका सबै अपहेलित नाम सच्याउने निर्णय भएको उनले बताए । कार्यपालिका बैठकले ३० दिनभित्र वडामा रहेका गाउँका अपहेलित नाम सच्याएर नयाँ नाम ल्याउन आग्रह गरेको छ । 

वडा कार्यालयहरुको सक्रियतामा सम्बन्धित गाउँका अगुवाहरुसंग बसेर अपहेलित नामलाई सच्याएर गाउँको नयाँ नाम राख्ने र त्यसलाई अर्को कार्यपालिका बैठकबाट अनुमोदन गर्ने निर्णय भएको उपप्रमुख बोहराले बताए । उनले भने ‘गाउँको नामकै कारण कुनै पनि समुदायलाई अवहेलना नहोस भनेर हामीले नाम सच्याउने भनेका छौं । सबै वडामा अपहेलित नाम सच्याउने कार्य हुन्छ ।’

अपहेलित नाम सच्याएर गाउँमा नयाँ नामको बोर्ड समेत नगरपालिकाका तर्फबाट राखिने उपप्रमुख बोहराले बताए । गाउँको नामकै कारण कुनै पनि समुदायलाई अवहेलना नहोस भनेर यो निर्णय गरिएको उनले बताए । 

केही दिन पहिला अन्तरपालिका समन्वय बैठकले जिल्लाभरीका गाउँका अपहेलित नाम सच्याउने निर्णय गरेको थियो । पाटनमा बसेको अन्तरपालिका समन्वय बैठकले अपहेलित गाउँका नाम सच्याउन सबै पालिकाले पहल गर्ने र त्यस्ता गाउँमा नयाँ नाम राख्ने निर्णय गरेको थियो । 
 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  ०८:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update