बैतडी –निर्वाचन आयोगले राष्ट्रिय भूमी आयोगलाई लालपूर्जा वितरण, तथ्यांक संकलन, लगत संकलन लगायतका कामलाई रोक्न निर्देशन दिएपछि बैतडीमा पनि लगत संकलनको काम रोकिएको छ ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर लगत संकलनको काम रोक्न आयोगले निर्देशन दिएपछि राष्ट्रिय भूमी आयोगले तत्कालका लागि लालपूर्जा वितरण, तथ्यांक संकलन, लगत संकलन लगायतका कामहरु रोकिएको जनाएको छ ।
आफू मातहतका जिल्ला समितिहरुलाई पनि त्यस्ता कामहरु रोक्नका लागि आयोगले निर्देशन दिएको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐरले जानकारी दिए । भूमी सम्बन्धि काम गरिरहेका सबै पालिकाहरुलाई अर्को सूचना नआउँदा सम्मका लागि लगत संकलनको काम रोक्न भनिएको उनले बताए ।
निर्वाचन आचारसंहिताका कारण भूमी सम्बन्धि लगत संकलनको काम रोकिएको हो । बैतडीका १० ओटा स्थानीय तह मध्ये ८ ओटाले भूमी आयोगसंग सम्झौता गरिसकेका छन् । ती मध्ये सात ओटा स्थानीय तहमा लगत संकलनको काम भइरहेको थियो । लगत संकलन भइरहेका ठाउँमा तत्कालका लागि यो कार्य रोकिएको ऐरले बताए ।
जिल्लाको पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा लगत संकलनको काम भइरहेको थियो । अब ती पालिकाहरु चुनावपछि लगत संकलनको काम अघि बढ्ने बताइएको छ ।




