Sagun Khabar
बैतडीको पाटनमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु 

बैतडी –बैतडीमा डेंगु रोगको संक्रमण बढ्दै गएपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु भएको छ । पाटन नगरपालिकाको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र पाटनले लामखुट्टेको फुल पार्ने ठाउँ खोजौं र नष्ट गरौं अभियान सञ्चालन गरेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए । 

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने भएकाले त्यसबाट बच्नका लागि लामखुट्टे नष्ट गर्नुपर्ने हुन्छ । बर्षातको समयमा पानी जमेका ठाउँमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता ठाउँको पानी हटाउनुपर्ने सन्देश दिइएको उनले बताए । 

पाटन बजारमा र्याली सहित लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानको बिषयमा जानकारी गराइएको भट्टले बताए । 

जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र अन्य सरोकारवालाहरुको सहभागितामा अभियान शुरु गरिएको हो । 

बैतडीमा पनि डेंगुका बिरामी बढ्दै गएका छन् । यसबाट बच्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु भएकाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो । जमा भएको पानीमा लामखुट्टेले फुल पार्ने र त्यसबाटै लामखुट्टे उत्पादन हुने भएकाले घर वरीपरी सफा राख्नुपर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्नपर्ने लगायतका बिषयमा जानकारी दिइएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update