बैतडी –नेपाल–भारत सिमाना झुलाघाटमा २२ बर्षदेखि बन्द रहेको सटही काउन्टर अझै खुल्न सकेको छैन् । सटही काउन्टर नहुँदा व्यापारीलाई चर्को कमीसन दिएर नेपाली मुद्रा सट्नुपर्ने बाध्यता रहेको स्थानीयहरुले बताएका छन् ।
दैनिक उपभोग्य सामग्री देखि अन्य कामका लागि भारतको पिथौरागढ र झुलाघाट पुग्ने नागरिकलाई भारतीय मुद्राकै समस्या हुने गरेको छ । सटही काउन्टर नहुँदा व्यापारीहरुलाई कमीसन दिएर नेपाली मुद्रा साट्नुपर्ने बाध्यता रही आएको स्थानीय रघुबीर थापाले बताए ।
रोजगारीका लागि झुलाघाट भएर भारत पस्ने नागरिकलाई समेत सटही काउन्टर नहुँदा समस्या हुने गरेको छ । सटही काउन्टर नहुँदा रोजगारीका लागि जानेहरुले समेत व्यापारीबाटै कमीसन दिएर नेपाली मुद्रा साट्नुपर्ने बाध्यता रही आएको छ ।
झुलाघाटमा महाकाली भन्सारसँगै रहेको सटही काउन्टर नेकपा (माओवादी) को सशस्त्र द्वन्द्वको समय २०५७ सालमा बन्द भएको थियो ।
शान्ति प्रक्रियापछि महाकाली भन्सार कार्यालय स्थापना भए पनि सटही काउन्टर स्थापना गरिएको छैन । सटही काउन्टर स्थापना नहुँदा आपतकालिन अवस्थामा भारतीय बजार जानुपर्ने नागरिकलाई समस्या हुने गरेको छ । पाँच प्रतिशत सम्म कमीसन दिएर नेपाली मुद्रा साट्नुपर्ने बाध्यता रहेको थापाले बताए ।
झुलाघाटमा सटही काउन्टर नभएपनि राष्ट्रिय वाणिज्य बैंकले भारतीय मुद्रा आवश्यक परेका नागरिकलाई एटीएम मार्फत १० हजार रुपैंयासम्म साट्न सक्ने व्यवस्था गरेको राष्ट्रिय वाणिज्य बैंक बैतडीका म्यानेजर पुरुषोत्तम लेखकले बताए । १० हजार रुपैंया साट्दा करीब २५३ रुपैंया सेवा शुल्क लाग्ने गर्दछ ।
सीमा नाकामै सटही काउन्टर भए विभिन्न कामका लागि भारत जाने नागरिकलाई सहज हुने स्थानीय चन्द्रसिंह बुडालले बताए । सीमा नाकामा सटही काउन्टर नहुँदा व्यापारीहरुलाई समेत समस्या हुने गरेको दशरथचन्द नगरपालिका १ का प्रयागराज भट्टले बताए ।




