Sagun Khabar
बैतडीको पाटन–पञ्चेश्वर सडकमा पुरानै भाडा असुल्ने गरेको गुनासो 

बैतडी –बैतडीमा केही दिन पहिलादेखि नयाँ भाडादर कायम भएपनि पाटन–पञ्चेश्वर सडकमा पुरानै भाडादर असुल्ने गरेको गुनासो आएको छ । जिल्लाभित्रका सडकहरुको केही दिन पहिला मात्रै नयाँ भाडादर लागू गरेर टिकट समेत अनिवार्य गरिएको छ । 

तर पाटनदेखि मेलौली र पञ्चेश्वर सम्म यातायात व्यवसायीहरुले पुरानै भाडा असुल गर्ने गरेको यात्रुहरुले बताएका छन् । नयाँ भाडादर अनुसार पाटनदेखि मेलौली सम्म २५० रुपैंया भाडा कायम गरिएको भएपनि व्यवसायीहरुले ५ सय रुपैंया सम्म असुल गर्ने गरेका गुनासो आएको छ । यस्तै यातायात व्यवसायीहरुले टिकट समेत नदिने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । 

पहिला नै भाडाको बार्गेनिङ गरेर मात्रै यातायात व्यवसायीहरुले यात्रुहरुलाई जिपमा चढाउने गरेको बताइएको छ । तोकिएको भाडादरमा जान नसकिने भन्दै उनीहरुले दोब्बर भाडा असुल्ने गरेका बताइएको छ । 

यो बिषयमा जिल्ला प्रशासन कार्यालयले भने अनुगमन जारी रहेको जनाएको छ । भाडादर कार्यान्वयन भए÷नभएको बिषयमा जिल्लाभरी अनुगमन भइरहेको र कार्यान्वयन नभएको पाइएमा कारवाही गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 
जिल्लाभरी नयाँ भाडादर कार्यान्वयन भए÷नभएको बारेमा प्रहरीले अनुगमन गरिरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update