Sagun Khabar
बैतडीको सुर्नयामा बजार अनुगमन जारी, ४० हजार बराबरको अखाद्य वस्तु नष्ट 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले चाडपर्व लक्षित बजार अनुगमन कार्यलाई जारी राखेको छ । दशैंको समयमा संयुक्त बजार अनुगमन टोलीसंग मिलेर बजार अनुगमन गरेको सुर्नयाले अहिले पालिकाभित्रका बजारमा अनुगमन गरिरहेको गाउँपालिकाका उपाध्यक्ष मञ्जु बोहराले बताइन् । 

गाउँपालिका भित्रका बजारमा अनुशासन कायम गर्न, म्याद नाघेका सामग्री विक्रि वितरणमा रोक लगाउन र कालोबजारी हटाउन शनिबारदेखि बजार अनुगमन शुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्टले बताए । 

बजार अनुगमनका सिलसिलामा विभिन्न ठाउँबाट दुई दिनमा ४० हजार बराबरको म्याद नाघेको सामग्री फेला पारेर नष्ट गरिएको अनुगमन टोलीकी संयोजक एवं उपाध्यक्ष बोहराले बताइन् । 

पालिकाको टोलीले शनिबार ढोल्यामोड, मोतीनगर लगायतका बजार अनुगमन गरेको थियो । आइतबार पालिकाको वडा नं २ का विभिन्न बजारमा अनुगमन गरिएको हो । 

अनुगमनका क्रममा दर्ता नगरेर सञ्चालनमा रहेका पसलहरुलाई दर्ता गर्न पनि आग्रह गरिएको र उपभोक्ताहरुलाई पनि म्याद हेरेर मात्रै सामग्री खरीद गर्न आग्रह गरिएको उपाध्यक्ष बोहराले बताइन् । बजार अनुगमनलाई  निरन्तरता दिने गाउँपालिकाले  जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update