Sagun Khabar
सुदूरपश्चिमको मुख्यमन्त्रीमा बैतडीका सांसद भट्टको चर्चा 

बैतडी –निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठनका लागि तयारी भइरहेका बेला सुदूरपश्मिचको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद शिवराज भट्टको नाममा चर्चा हुन थालेको छ । 

बैतडी प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्ट नेपाली कांग्रेसका पुराना नेता हुन् । यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा नेकपा एमालेका लिलाधर भट्टले जित हात पारेको थिए । अहिलेको निर्वाचनमा एमालेका लिलाधर भट्टलाई पराजित गर्दै कांग्रेसका शिवराज भट्टले जित हात पारेका हुन् । 

प्रदेश सांसदमा निर्वाचित भए लगत्तै सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि भट्टको नाम समेत चर्चा आउन थालेको हो । यद्यपि सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टको नाम समेत चर्चामा रहेको छ । यस्तै नेपाली कांग्रेसभित्रै प्रकाश देउवा, बहादुरसिंह थापा, दिवानसिंह बिष्ट लगायतका नेताहरुको नाम समेत चर्चामा रहेको छ । 

सुदूरपश्चिको पहाडी जिल्ला बैतडीबाट निर्वाचित भट्ट नेपाली कांग्रेसका सिनियर नेता भएकाले मुख्यमन्त्रीमा दाबी हुनु उपयुक्त भएको कांग्रेसका नेता कार्यकर्ताहरुले बताएका छन् । लामो समयसम्म कांग्रेसको राजनीतिक गरेका भट्ट मुख्यमन्त्रीका लागि उपयुक्त पात्र भएका कांग्रेसीजनहरुले बताएका छन् । 

प्रदेश सांसद भट्टले सरकार गठनको पूर्व सन्ध्यामा अहिले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने भट्टले काठमाण्डौं पुगेर देउवालाई समेत भेट गरेका छन् । कांग्रेस बैतडीका नेता सहित भट्टले प्रधानमन्त्रीसंग भेटघाट गरेको बताइएको छ । 

नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका भट्ट नेपाली कांग्रेस बैतडीका सभापति समेत भइसकेका छन् । बैतडी कांग्रेसको संगठनलाई बलियो बनाउन उनको योगदान रहेको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update