बैतडी –बैतडीको पाटन नगरपालिकाभित्र निर्माण भएका तथा भइरहेका योजनाहरुको अनुगमन गर्ने कार्यलाई तीव्रता दिइएको छ । पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा संयोजक रहेको अनुगमन समितिले योजना अनुगमनका तीव्रता दिएको हो ।
लागत स्टमेट अनुसार काम भए÷नभएको, गुणस्तरीय काम भए÷नभएको बारेमा जानकारी लिनका लागि स्थलगत रुपमा अनुगमन गर्ने कार्य भइरहेको उपप्रमुख बोहराले बताए । अनुगमनका क्रममा कमसल काम भएको पाइएमा भुक्तानी रोकिने र दोश्रो पटक काम गर्न लगाउने उनले बताए । उनले भने ‘अहिले हामीले योजनाहरुको अनुगमन गरिरहेका छौं ।अनुगमनका क्रममा कमसल काम गरेको देखिएमा कारवाही प्रक्रिया अगाडि बढाउँछौं ।’
स्थानीयस्तरमा हुने विकास निर्माणका कामहरु गुणस्तरहीन हुने गरेका गुनासो बढेका बेला नगरपालिकाले योजना अनुगमनलाई तीव्रता दिएको हो । स्थानीय तहको अनुगमन समितिले अनुगमन गरेका योजनाहरु गुणस्तरीय र दिगो हुन्छ भन्ने आभाष दिलाउने गरी अनुगमन भइरहेको उपप्रमुख बोहराले बताए ।
नगरपालिकाका सबै वडामा अनुगमन कार्य भइरहेको उपप्रमुख बोहराले बताए । सोमबार मात्रै नगरपालिकाको आफ्नै भवन अनुगमन गर्दा गुणस्तरहीन पाइएको छ । कमसल सामग्रीको प्रयोग गरेर भवन निर्माण भइरहेको तथ्य बाहिर आएको हो । सिमेन्टको कम प्रयोग गरेर भवन निर्माण गरेको देखिएको उपप्रमुख बोहराले बताए ।




