Sagun Khabar
बैतडीमा यो बर्ष धान उत्पादनमा वृद्धि 

बैतडी –बैतडीमा गत बर्षको तुलनामा यस बर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र बैतडीका अनुसार यस बर्ष जिल्लामा १ हजार मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको हो । ८ हजार ५५० हेक्टर क्षेत्रफलमा यो बर्ष १७ हजार १ सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कडेलले जानकारी दिए । गत बर्ष बैतडीमा १६ हजार २० मेट्रिक टन धान उत्पादन भएको थियो ।

गत बर्ष धान भित्र्याउने बेलामा बर्षा भएकाले धान उत्पादनमा कमी आएको थियो । यो बर्ष समयमा पानी परेका कारणले रोपाइँ पनि समयमै सकिएको र सिँचाइको सुविधा भएका ठाउँमा धान उत्पादनमा वृद्धि भएको कडेलले बताए ।

बैतडीको पाटन क्षेत्रलाई धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको छ । यसका साथै गोकुलेश्वर, हाट, ढुंगाडा, सलेना, सुर्नया लगायतका क्षेत्रलाई धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको छ । पाटनमा भने यो बर्ष धानमा रोग लागेका कारण खासै उत्पादन हुन नसकेको स्थानीय दिनेश बिष्टले बताए । 

बैतडीमा रैथाने धानका जातहरु भने लोप हुँदै गएका छन् । उन्नत जातका धानहरु लगाउने किसानको संख्या बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update