बैतडी –बैतडीको भुमेश्वर स्वास्थ्यचौकीमा कार्यरत अनमीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति बैतडीले माग गरेको छ ।
सोमबार राति ९ बजेतिर कार्यस्थलमै गइ जिल्लाको पाटन नगरपालिका ४ बस्तीका लोकेन्द्र महराले भुमेश्वर स्वास्थ्यचौकी अन्तर्गतको बर्थिङ सेन्टरमा ड्युटीमा रहेकी एक अनमीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । आरोपित महरालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
कार्यस्थलमै गई स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नु निकै दुखद भएको युनियनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्ता घटनाले राष्ट्र सेवक कर्मचारीहरुलाई काम गर्न निकै असुरक्षा हुने भएकाले घटनामा संलग्नलाई कानुनी कारवाहीको माग गरिएको हो ।
नेपाल निजामति कर्मचारी युनियनका जिल्ला अध्यक्ष नैनसिंह कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा राष्ट्र सेवक कर्मचारीहरुको कार्यस्थलमा सुरक्षित रुपमा सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न माग गरिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालयलाई अभिभावकको भूमिका निर्वाह गर्न समेत आग्रह गरिएको छ ।




