Sagun Khabar
बैतडीको पाटनमा रुपान्तरण कार्यक्रमको समीक्षा गोष्ठी सम्पन्न 

बैतडी –बैतडीको पाटनमा रुपान्तरण कार्यक्रमको योजना तर्जुमा तथा समीक्षा गोष्ठी सम्पन्न भएको छ । बालविवाह अन्त्यका लागि सञ्चालनमा रहेको रुपान्तरण कार्यक्रमले बर्षभरीमा गरेका क्रियाकलापको समीक्षा गरिएको हो । 

रुपान्तरण सहजकर्ताहरुको समेत सहभागितामा समीक्षा तथा आगामी बर्षका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको पीसवीनका फिल्ड संयोजक कृष्णदत्त भट्टले बताए । 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को सहयोगमा भीएसओ र पीसवीनले जिल्लाका विभिन्न स्थानीय तहमा रुपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ । सो कार्यक्रम अन्तर्गत बालविवाह अन्त्यका लागि विभिन्न कार्यक्रमहरु भइरहेका छन् । 

पाटनमा सम्पन्न समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा बोल्दै पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले पाटन नगरपालिकाले बालविवाह गर्नेलाई सरकारी सुविधाबाट वञ्चित गर्ने निर्णय गरिसकेको बताए । बालविवाह एक सामाजिक समस्या रहेकाले यसमा संलग्नलाई कानुनी दायरमा ल्याउन सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । 

यस्तै सोही गोष्ठीमा बोल्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बालविवाह जस्ता हानिकारक प्रचलन अन्त्यका लागि नगरपालिकाले पहल गरिरहेको बताए । 

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले रुपान्तरण कार्यक्रमले पारेको प्रभावका बिषयमा जानकारी गराएका थिए । 

रुपान्तरण कार्यक्रम सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रमा बालविवाह न्यूनीकरणमा सहज भएको किशोरकिशोरीहरुले बताएका छन् । बैतडीका ४५ ओटा वडामा बालविवाह अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालनमा रहेका पीसवीनका फिल्ड संयोजक कृष्णदत्त भट्टले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update