Sagun Khabar
बैतडीको दोगडाकेदार गाउँपालिकाले गर्यो भूमी आयोगसंग सम्झौता 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेको छ । पालिकाभित्र रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि पालिकाले आयोगसंग सम्झौता गरेको हो । 

सम्झौतामा दोगडाकेदार गाउँपालिकाका तर्फबाट उपाध्यक्ष पार्वती कार्कीले हस्ताक्षर गरेको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताए । यो संगै बैतडीका ९ ओटा स्थानीय तहहरुले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरिसकेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका बाहेक अन्य सबै स्थानीय तहहरुले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरिसकेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐरले जानकारी दिए । 

जिल्लाका अन्य स्थानीय तहहरुले लगत संकलनको काम समेत गरिरहेको अध्यक्ष ऐरले बताए । आ–आफ्ना स्थानीय तहमा रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनका लागि पालिकाहरुले काम गरिरहेको अध्यक्ष ऐरले बताए । 

भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरेर उनीहरुलाई आयोगले लालपूर्जा समेत वितरण गर्ने अध्यक्ष ऐरले बताए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update