Sagun Khabar
बैतडीका कच्ची सडकमा मनोमानी भाडा कायमै 

बैतडी –बैतडीका कच्ची सडकहरुमा जिप व्यवसायीहरुले मनोमानी भाडा असुल्ने कार्य जारी राखेका छन् । कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपैंयाका दरले भाडा निर्धारण गरिएको भएपनि यो भाडादर लागू नभएको यात्रुहरुले गुनासो गरेका छन् । 

जिल्लाको ढोल्योमोडदेखि हाट सम्मको ५ सय रुपैंया भाडा असुल हुँदै आएको छ । १५ किलोमिटरको दुरीमा ५ सय भाडा असुल गर्ने गर्ने गरिएको स्थानीय पुरनसिंह ऐरले बताए । ५ सय भाडा दिएमात्रै सो सडकखण्डमा जिपमा यात्रा गर्न पाइने बाध्यता रहेको उनले सुनाए । 

यस्तै सतबाँझदेखि सुर्नया सडकमा पनि ५ सय रुपैंया भाडा असुल हुँदै आएको छ । जिप व्यवसायीहरुले सतबाँझदेखि सुर्नया गाउँपालिकाको वडा नं ६ रीगा सम्म ५ सय भाडा असुल गर्ने गरेका छन् । यसले गर्दा यात्रुहरु मारमा परेका स्थानीयहरुको गुनासो रही आएको छ । 

नियमन गर्ने निकायहरुले प्रभावकारी अनुगमन गर्न नसक्दा यात्रुहरु मारमा पर्ने गरेका छन् । कच्ची सडकमा जिप व्यवसायीहरुले सवारी साधन सञ्चालन गर्न समस्या हुने भन्दै बढी भाडा असुल्ने गरेका छन् । बढी भाडा असुलेको बिषयमा बारम्बार गुनासो आउने गरेको भएपनि यो समस्या समाधान हुन सकेको छैन् । 

जिल्लाका सबै जसो कच्ची सडकमा जिप व्यवसायीले आफूखुसी भाडा लिने गरेको यात्रुहरुको आरोप रही आएको छ । बर्षातको समयमा सडक बिग्रेका बेला बढी भाडा लिनु केही हद सम्म स्वभाविक भएपनि हिउँदको समयमा समेत पुरानै भाडा असुल गर्दा यात्रुहरु मारमा परेका हुन् । गरिब नागरिकलाई कच्ची सडकमा जिपको यात्रा निकै महंगो पर्ने गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update