बैतडी –बैतडीको पाटन नगरपालिका ९ स्थित ज्ञानेश्वर माविको ४८ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश बिष्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल प्रमुख अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा, जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाट लगायतको सहभागिता रहेको थियो । बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले बार्षिक प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
बार्षिकोत्सवको अवसरमा विभिन्न सचेतनामूलक नाटक प्रदर्शन गर्नुका साथै सांस्कृतिक प्रस्तुतीहरु समेत राखिएका थिए । यस्तै विद्यालयमा बार्षिक परीक्षामा प्रथम, दोश्रो र तेश्रो भएका सबै कक्षाका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए ।
यस्तै विद्यालयले सञ्चालन गरेका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको उनले बताए । बार्षिकोत्सवको अवसरमा मंसिर २७ गतेदेखि सञ्चालन भएको भलिबल प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, दौड प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गरेकाहरुलाई पुरस्कार वितरण गरिएको महराले बताए ।
यसैबीच विद्यालयको बार्षिकोत्सवको अवसरमा विद्यालयमा कार्यरत ६ जना शिक्षक र कर्मचारीलाई सम्मान गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा निवर्तमान प्रधानाध्यापक तर्कराज भट्ट, सहायक प्रधानाध्यापक धनबहादुर महरा, शिक्षक हरिश कलौनी, शिक्षक कैलाश चन्द, शिक्षक भरतबहादुर कुँवर र लेखापाल विनोद बिष्ट रहेका छन् ।




