बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा बालविवाह अन्त्यका लागि रुपान्तरण कार्यक्रमको योजना तर्जुमा तथा समीक्षा गोष्ठी सम्पन्न भएको छ । मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकाका किशोरकिशोरी सहजकर्ताहरुको सहभागितामा समीक्षा गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा सहभागी किशोरकिशोरी सहजकर्ताहरुले रुपान्तरण कार्यक्रमले बालविवाह अन्त्यका लागि महत्वपूर्ण प्रयास गरेको बताएका छन् । रुपान्तरण कक्षामा सहभागी किशोरकिशोरीहरुले साप्ताहिक रुपमा सञ्चालन गर्ने कक्षाले बालविवाह न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
रुपान्तरण कक्षाले समाजमा रुपान्तरण ल्याउन र किशोरकिशोरीहरुलाई सक्षम बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको सहजकर्ता हरिना भट्टले बताइन् । रुपान्तरण कार्यक्रम मार्फत स्थानीय सरकारहरुसंग आफ्ना कुराहरु राख्न सहज भएको उनको भनाइ छ ।
रुपान्तरण कक्षाका माध्यमबाट गाउँमा बालविवाह न्यूनीकरण क्षेत्रमा सफलता मिलेको र आफ्नो व्यक्तिगत जीवनमा समेत धेरै परिवर्तनका आएको सहजकर्ता प्रकाश बडूले बताए । उनले भने ‘रुपान्तरण कक्षाले म धेरै संस्थाहरुमा जोडिन पाएको छु । आफ्ना कुराहरु राख्न पाएको छु । हानिकारक प्रचलन अन्त्यका लागि समेत सहयोग पुगेको छ ।’
रुपान्तरण कक्षाका माध्यमबाट महिनावारी भएको समयमा गरिने विभेद अन्त्यका लागि सहयोग पुगेको अर्की सहजकर्ता सरीता जोशीले बताइन् । किशोरकिशोरी मात्रै नभएर यो कार्यक्रमबाट अभिभावक समेत रुपान्तरित भएका उनले बताइन् ।
रुपान्तरण कार्यक्रम मार्फत आफू दशरथचन्द नगर बालसञ्जालको अध्यक्ष बन्न सफल भएको बताउँदै सहजकर्ता उमेश बडूले रुपान्तरण कार्यक्रमले किशोरकिशोरीहरुलाई विभिन्न कुरामा सक्षम बनाएको बताए ।
किशोरकिशोरीहरुलाई सक्षम बनाउन तथा उनीहरुलाई बालविवाह न्यूनीकरणमा सक्रिय बनाउनका लागि रुपान्तरण कार्यक्रमले काम गरिरहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । यो कार्यक्रम मार्फत झण्डै २ हजार जना किशोरकिशोरीहरु लाभान्वित भएका उनले बताए ।
रुपान्तरण कार्यक्रमले किशोरकिशोरीहरुमा विभिन्न कुरामा परिवर्तन आएकाले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने दशरथचन्द नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले बताइन् ।




