बैतडी- बैतडीका ९ ओटा स्थानीयतहरुले भूमी आयोग संग सम्झौता गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिका बाहेक अन्य सबै स्थानीय तहहरुले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरिसकेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐर (कपिल)ले जानकारी दिए ।
उनका अनुसार जिल्लाको पुर्चौडी नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिकाले भूमी आयोग संग सम्झौता गरिसकेको छ । यस्तै सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, डिलौशैनी गाउँपालिका दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाले पनि भूमी आयोग संग सम्झौता गरि सकेको छ । पालिकाभित्र रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि स्थानीयहतहरुले आयोगसंग सम्झौता गरेका छन् ।
यस्तै दशरथचन्द नगरपालिकाले पनि सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि काम भइरहेको बताएको छ । भूमी आयोग संग सम्झौता गर्न मात्रै बाँकी रहेको र तथ्याँक संकलन लगायतका प्रकृया अगाडी बढि सकेका नगरप्रमुख पुष्कर राज जोशी (लख्खाभाइ) ले बताए । कार्य व्यस्तताले समझौता गर्न नसकिएको र छिट्टै गरिने उनले बताए ।
स्थानीय तहहरुले सम्झौता गरेर लगत संकलनको काम गरिरहेको अध्यक्ष ऐरले बताए । आ–आफ्ना स्थानीय तहमा रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनका लागि पालिकाहरुले काम गरिरहेका उनले बताए ।
भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरेर उनीहरुलाई आयोगले लालपूर्जा समेत वितरण गर्ने बताइएको छ । जतिसक्दो चाँडो तथ्यांक संकलन गरेर लालपूर्जा वितरण गरिने राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीले जनाएको छ ।




