Sagun Khabar
जिल्ला अस्पताल बैतडीमै बिशेषज्ञ सेवा : नागरिकलाई उपचारका लागि सहज 

बैतडी –जिल्ला अस्पताल बैतडीमा बिशेषज्ञ सहितको सेवा शुरु भएपछि बिरामीहरुलाई उपचारका लागि सहज भएको छ । अस्पताल नयाँ भवनमा सरेसंगै सेवा प्रवाहमा समेत सहज भएको जिल्ला अस्पतालका सूचना अधिकारी चन्द्रसिंह डोबालले जानकारी दिए । 

समान्य उपचारका लागि बिरामीहरुलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको डोबालले बताए । अहिले जिल्ला अस्पतालमा तीन जना बिशेषज्ञ सहित ८ जना चिकित्सक कार्यरत रहेका छन् । 

जिल्ला अस्पतालमा अहिले हाडजोर्नी, जनरल फिजिसियन र एनेस्थियोलोजीष्ट गरेर तीन जना बिशेषज्ञहरुले सेवा दिइरहेका सूचना अधिकारी डोबालले जानकारी दिए । उनले भने ‘अहिले समान्य बिरामीहरुलाई रेफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । नयाँ भवनमा अस्पताल सरेसंगै भौतिक व्यवस्थापनमा पनि राम्रो भएको छ ।’

जिल्ला अस्पतालमा बिशेषज्ञ सहितको सेवा सञ्चालनमा रहेकाले पहिलाको तुलनामा बिरामीहरुको संख्या पनि बढ्दै गएको जिल्ला अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. हिरा जोशीले बताइन् । उनले भनिन् ‘पहिलाको तुलनामा जिल्ला अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ । बिशेषज्ञ सेवा समेत सञ्चालनमा रहेकाले बिरामीहरुलाई सहज भएको छ ।’

जिल्ला अस्पातलमा अहिले हाडजोर्नीको अप्रेशन हुनुका साथै हर्नीया, हाइड्रोसिलको समेत अप्रेशन हुने गरेको छ । यस्तै जटीलतायुक्त प्रसुती सेवा पनि जिल्ला अस्पतालमा उपलब्ध रहेको डा. जोशीले बताइन् । 

जिल्ला अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने कार्य समेत भइरहेको छ । सरकारले स्वीकृती दिइसकेकाले अब छिटै अस्पतालमा ५० शैय्या सञ्चालनमा आउने जिल्ला अस्पतालका नायब सुब्बा उमेश पन्तले बताए । यस्तै अस्पतालमा भेन्टिलेटर समेत सञ्चालनमा रहेको उनले बताए । 

जिल्ला अस्पतालमै बिशेषज्ञ सहितको सेवा पाइने भएपछि बिरामीहरुलाई समेत सहज भएको छ । पहिलाको तुलनामा अस्पतालको सेवामा सुधार भएको दशरथचन्द नगरपालिका २ का तिलक बोहराले बताए । उनले भने ‘पहिलाको तुलनामा जिल्ला अस्पताल राम्रो सेवा पाइने गरेको छ । नयाँ भवनमा अस्पताल सरेसंगै बिरामीहरुलाई पनि सहज भएको छ ।’
 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update