बैतडी –गत बर्षको बेमौसमी बर्षाका कारण सेती नदीमा आएको बाढीले बगाएको पुल नबन्दा बैतडीको सिगास तथा डोटीको आदर्श गाउँपालिकाका नागरिकलाई समस्या भएको छ । सिगास गाउँपालिकाको भौनेली पातल र डोटीको बबिना जोड्ने झोलुंगे पुल बाढीले बगाएपछि समस्या भएको स्थानीय मानबहादुर बोहराले बताए ।
२०७८ सालको बेमौसमी बर्षाले पुल बगाउँदा आवतजावतमा समस्या भएको स्थानीयहरुले बताएका छन् । सिगास गाउँपालिका वडा नं ६ र ७ का बासिन्दाको डोटीको आदर्श गाउँपालिकामा समेत बसोबास भएकाले उनीहरुलाई आवतजावतमा निकै समस्या भएको छ । सिगाससंग सीमाना जोडिएको आदर्श गाउँपालिकाका बालबालिकाहरु बैतडीमा पठनपाठनका लागि विद्यालय आउने भएपनि पुलको अभावमा उनीहरु टाढाको विद्यालय जान बाध्य भएका स्थानीय समेत रहेका शिक्षक पदम साउँदले बताए ।
भौनेलीपातलमा बाढीले बगाएको पुल निर्माणका लागि मुख्यमन्त्री, मन्त्री र सांसद सबैले आश्वासन दिएपनि कसैले काम नगरेको स्थानीयहरुको गुनासो रही आएको छ । बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री समेत पुगेर भत्केका संरचना निर्माण गर्ने आश्वासन दिएको भएपनि कसैले काम नगरेको स्थानीय धर्मसिंह बोहराले बताए । उनले भने ‘त्यो बेला सबै नेताहरु आए । प्रधानमन्त्री आए, मन्त्री आए तर कसैले समस्याको समाधान गरेन् ।’
बाढीले बगाएको पुल बनाउन सरकारले आनाकानी गरेपछि स्थानीयहरुले गत बर्षदेखि काठेपुल हालेर आवतजावत गर्न थालेका छन् । यो बर्ष पनि नयाँ काठेपुलको तयारी भएको स्थानीय भानी बोहराले बताए । स्थानीयहरु मिलेर काठेपुलको निर्माण गरेको उनले सुनाए ।
सेती नदी वारी र पारी दुवैतिर बस्ती भएकाले आवतजावतका लागि पुल आवश्यक रहेको छ । तर पुल नबन्दा काठेपुलकै साहरामा आवतजावत गर्नुपरीरहेको स्थानीयहरुले बताएका छन् ।




