Sagun Khabar
पाटन –३ स्थित गुजर माविको भवन पनि गुणस्तरहीन,पुनः निर्माण गर्न निर्देशन 

बैतडी –बैतडीको पाटन नगरपालिका –३ स्थित गुजर माविको नव निर्मित भवन गुणस्तरहीन रहेको पाइएको छ । भवन निर्माण गर्दा कमसल सामग्री प्रयोग गरेको पाइएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । 

४२ लाखको लागतमा निर्माण भएको विद्यालयको ४ कोठे दुईतले भवन निर्माण गरिएको भएपनि प्लास्टर गर्दा बालुवा मात्रै राखेको पाइएको छ । भवनको भित्ता र कोठामा प्लाष्टर गर्दा सिमेन्टको कम प्रयोग गरेको पाइएको हो । 

कृष्ण कन्सट्रक्सनले निर्माण गरेको भवन गुणस्तरहीन रहेको पाइएपछि पुनः निर्माण गर्न निर्देशन दिएको उपप्रमुख बोहराले बताए । 

गुजर माध्यमिक विद्यालयको भवन निर्माणमा व्यापक लापरवाही रहेको पाइएको उपप्रमुख बोहराले बताए । सार्वजनिक संरचना मापदण्ड अनुसार निर्माण नहुँदा दिगो हुन सकेका छैनन् । 

यसअघि पाटन नगरपालिकाको भवन अनुमगन गर्दा गुणस्तरहीन रहेको पाइएको थियो । पाटन नगरपालिकाको आफ्नै भवन गुणस्तरहीन रहेका बेला बाहिर बनेका संरचना कस्ता होलान् भन्ने प्रश्न समेत उठेको थियो । 

उपप्रमुख बोहराको संयोजकत्वमा रहेको अनुगमन टोलीले अहिले नगरपालिकाका विभिन्न स्थानमा बनेका योजनाहरुको अनुगमन गरिरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update