बैतडी –सुन्तला उत्पादनका लागि प्रख्यात जिल्लाको रुपमा रहेको बैतडीमा पछिल्लो समयमा सुन्तलाको उत्पादन घट्दै गएको छ । विभिन्न रोगका कारणले सुन्तला रुख सुक्दै गएपछि सुन्तलाको उत्पादान पनि घटेको हो । टुप्पोबाट रुख सुक्ने रोगले बारीका सबै सुन्तलाका रुख सुकीसकेका दशरथचन्द नगरपालिका ३ दुर्गाभवानीका केशव क्षेत्रीले बताए । सुन्तलाबाटै परिवारको खर्च चल्ने अवस्थामा रहेकोमा अहिले रुख सुकेर सखाप भएको उनले बताए । उनले भने ‘सुन्तला हाम्रो परिवारको जीविकोपार्जनको आधार थियो । तर पछिल्लो समयमा रुखको टुप्पोबाट सुन्तलाका रुख सुकेर सबै सखाप भईसकेका छन् । ५ सय रुख भएको बारीमा अहिले सुन्तलाको सुकेका मुढा मात्रै बाँकी छन् ।’
जिल्लाको दुर्गाभवानी क्षेत्रलाई सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएको थियो । तर अहिले गाउँमा सुन्तलाका बोट सुकिसकेका स्थानीय कैलाश पाण्डेयले बताए । उनले भने ‘हाम्रो दुर्गाभवानी क्षेत्र सुन्तला उत्पादनका लागि पकेट क्षेत्र हो । तर सुन्तलाको बोटको टुप्पोबाट सुक्ने रोगका कारण सबै सखाप भए । अहिले सुन्तलाको स्वादका लागि खोजी गर्नुपर्ने स्थिती छ ।’
जिल्लाको दुर्गाभवानी, नागार्जुन,देउलेक, सदरमुकाम क्षेत्र, वासुलिंग लगायतलाई साविकको जिल्ला कृषि विकास कार्यालयले सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा घोषणा गरेको थियो । आजभन्दा १० बर्ष अघि सम्म बैतडीको सुन्तला नेपालका मात्रै नभएर सीमावर्ती भारतीय बजार झुलाघाट सम्म पुग्ने गर्दथ्यो । तर पछिल्लो समयमा सुन्तलाको उत्पादन ह्वात्तै घटेको सुर्नया ३ का मञ्जु भट्टले बताइन् । उनले भनिन् ‘अहिले कहीँकतै मात्र सुन्तलाको बोट देख्न सकिन्छ । सुन्तलाका रुखहरु टुप्पोबाट सुकेर सखाप भईसकेका छन् ।’
जिल्लाको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सुन्तलामा कालो थोप्ले र ग्रिनिङ रोगले सुन्तला खेती मासिदै गएको दोगडाकेदार गाउँपालिका कृषि शाखा प्रमुख रेनु भट्ट पन्तले बताइन् । उनले भनिन् ‘अहिले हामीले अनुगमन गरेका ठाउँमा सुन्तलाका बोटहरु सुक्न थालेका पाइएका छन् । सुन्तला खेती मासिदै गएको छ ।’




