Sagun Khabar
बैतडीका किशोरकिशोरी भन्छन् –‘रुपान्तरणले नेतृत्व गर्ने क्षमताको विकास भयो ’

बैतडी –बैतडीमा रुपान्तरण कक्षामा सहभागी भएका किशोरकिशोरीहरुले नेतृत्व गर्ने क्षमताको विकास भएको बताएका छन् । किशोरकिशोरीहरुलाई बालविवाह न्यूनीकरणमा सक्रिय बनाउनका लागि सञ्चालित रुपान्तरण कार्यक्रमले आफूहरुमा धेरै परिवर्तन आएको किशोरकिशोरीहरुले बताएका छन् । 

रुपान्तरण कार्यक्रमका माध्यमबाट नेतृत्व गर्ने क्षमताको विकास भएको दशरथचन्द नगरपालिका १ का उमेश बडूले बताए । रुपान्तरण सहजकर्ता भएपछि आफू अहिले दशरथचन्द नगर बालसञ्जालको अध्यक्ष बन्न सफल भएको बडूको भनाइ छ । उनले भने ‘रुपान्तरण सहजकर्ताको १६ दिने तालिमले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ । अहिले म दशरथचन्द नगरबाल सञ्जालको अध्यक्ष समेत बनेको छु । नगरलाई बालमैत्री बनाउने अभियानमा सरीक भएको छु ।’

बैतडीको दुर्गास्थानका प्रकाश बडूले रुपान्तरण सहजकर्ता भएपछि अहिले वडास्तरीय विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएका छन् । स्थानीय सरकारसंगको सहकार्यमा बालविवाह विरुद्धको अभियान समेत सञ्चालन गरेको बडूले बताए । रुपान्तरण सहजकर्ता भएपछि आफू विभिन्न संघसंस्थामा समेत आवद्ध हुन सफल भएको बडूको भनाइ छ । उनले भने ‘रुपान्तरण सहजकर्ता भएपछि म सुदूरपश्चिम प्रदेशको स्वास्थ्य प्रवद्र्धन तारा समेत छनौट भए । अन्य काममा पनि मलाई निकै सजिलो भएको छ ।’

रुपान्तरण सहजकर्ता भएपछि गाउँमा रहेका हानिकारक प्रचलन हटाउनका लागि आफूले नेतृत्व गरिरहेको मेलौली ६ की हरिना भट्टले बताइन् । उनले भनिन् ‘अहिले मैले पालिकासंग समेत सहकार्य गरेर बालविवाह अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न सफल भएकी छु । यो कुरा रुपान्तरणमा सहभागी भएपछि मात्रै सम्भव भएको हो ।’

जिल्लामा संयुक्त राष्ट्रंसंघीय जनसंख्या कोष (युएनएफपीए) र भीएसओको सहयोगमा पीसवीन नेपालले रुपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमबाट जिल्लाका झण्डै २ हजार किशोरकिशोरी लाभान्वित भएका संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । किशोरकिशोरीहरुको क्षमता अभिवृद्धि गर्न र बालविवाह न्यूनीकरणमा उनीहरुको सहभागिता जनाउनका लागि रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update