बैतडी –बैतडीको पाटन नगरपालिका ९ स्थित ज्ञानेश्वर माविलाई स्कुल बस दिने मुख्यमन्त्री त्रिलोचन भट्टको घोषणा अधुरै रहेको छ । ३ बर्ष अगाडि विद्यालयको ४६ औं बार्षिकोत्सवमा मुख्यमन्त्री भट्टले विद्यालयलाई स्कुल बस उपलब्ध गराउने घोषणा गरेका थिए ।
जिल्लाको नमूना विद्यालयको रुपमा रहेको ज्ञानेश्वर माविका टाढाका विद्यार्थीहरुलाई स्कुल बस उपलब्ध गराउने मुख्यमन्त्रीले घोषणा गरेका भएपनि त्यो घोषणा अहिले सम्म पूरा भएको छैन् । दुई दिन अघि मात्रै विद्यालयको ४८ औं बार्षिकोत्सव सम्पन्न हुँदा मुख्यमन्त्रीको घोषणा अधुरै रहेको भन्दै अभिभावक, शिक्षक र विद्यार्थीहरुले असन्तुष्टी जनाएका छन् ।
मुख्यमन्त्री भट्टको कार्यकाल सकिने बेला सम्म स्कुल बस नपाएको बिषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश बिष्टले बताए । विद्यालयमा दुई घण्टाको दुरीबाट समेत विद्यार्थीहरु आउने गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टका अनुसार फोनमार्फत मुख्यमन्त्रीले स्कुल बस दिने घोषण गर्दा कार्यविधि नबनेका कारण कर्मचारीले असहयोग गरेको जानकारी दिँदै अहिले कार्यविधि बनिसकेकाले आफू मुख्यमन्त्रीबाट बिदा हुन लागे पनि विद्यालयले बस पाउने आश्वासन दिएका छन् । २०७६ साल मङ्सिर २९ गते विद्यालयको वार्षिकोत्सवमा प्रमुख अतिथिका रूपमा आएका मुख्यमन्त्री भट्टले विद्यालयलाई प्रदेश सरकारले एउटा बस किनेर उपलब्ध गराउने घोषणा गरेका थिए ।
मुख्यमन्त्रीले विद्यालयको प्राङ्गणमै आएर बस किनेर दिने घोषणा गर्दा यहाँ पठनपाठन गर्ने विद्यार्थी निकै खुसी भएका थिए । बस दिने घोषणा गरेको तेस्रो बितिसक्दा पनि बस नआउँदा निराश बन्नु परेको विद्यार्थीले बताएका छन् ।
बैतडीको पाटन नगरपालिका–९, विजयपुर खोड्पेमा रहेको ज्ञानेश्वर माध्यमिक विद्यालय बैतडीकै पहिलो नमुना सरकारी विद्यालय हो । यहाँ कक्षा ९देखि १२ सम्म ओभरसियर विषयको प्राविधिक पढाई हुने गरेको विद्यालयका सहायक प्रधनाध्यापक धनबहादुर महराले बताए ।
टाढाका विद्यार्थीलाई लक्षित गरेर छात्रवास निर्माणका लागि पहल भइरहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । खेल मैदान, बालउद्यान र प्राविधिक विषयको पढाइ हुने भएकोले ज्ञोनेश्वर नमुना विद्यालयमा विद्यार्थीको आकर्षण बढेको पाइएको छ ।




