Sagun Khabar
बैतडीमा शिक्षक मृत्यु प्रकरण : आफन्तले अझै शव बुझेनन्, हत्या गरेको परिवारको आंशका 

बैतडी –बैतडीको पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर बिष्टको शव अझै आफन्तहरुले बुझेका छैनन् । शिक्षक बिष्टको शंकास्पद मृत्यु भएको भन्दै आफन्तहरुले घटनाको सत्यतथ्य छानबीन गर्न माग गरेका छन् । शिक्षक बिष्टको मृत्यु नभइ हत्या भएको परिवारजनले आशंका गरेका छन् । मृतक बिष्टको शरीरभरी निलडाम भएकाले उनको हत्या भएको मृतकका आफन्त लिला बिष्टले बताइन् । उनले भनिन् ‘हामीले घटनाको सत्यतथ्य छानबीनको माग गरेका छौं ।दोषी पत्ता लगाउनुपर्ने हाम्रो माग रहेको छ ।’

मृतक शिक्षक बिष्टको दाँत टुटेको र मुखमा समेत घाउ रहेकाले उनको हत्या गरेर शव फालेको आशंका रहेको मृतकका भतिजा लोकेन्द्र बिष्टले बताए । ३० बर्ष सम्म शिक्षण पेशामा संलग्न रहेको ठाउँमा शिक्षकको मृत्यु हुँदा समेत कसैले चासो नलिएको बिष्टको गुनासो रहेको छ । उनले भने ‘हामी घटनाको सत्यतथ्य छानबीनको माग गर्छौं । हाम्रो मान्छेको हत्या गरेर शव फालिएको हो । यसमा सुक्ष्म अनुसन्धान अगाडि बढाउन समेत हामीले प्रहरीलाई आग्रह गरेका छौं ।’

बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भइ कृष्ण मावि पाटनमा कार्यरत शिक्षक बिष्ट शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए । कृष्ण माविकै छात्रवास भवन पछाडि भिरालो ठाउँमा उनको शव फेला परेको थियो । शवको पोष्टमार्टम गरिएको भएपनि आफन्तहरुले शव बुझ्न मानेका छैनन् । मृतकका छोरा क्यानडामा रहेकाले उनी पनि नेपाल फर्किरहेका बताइएको छ । 

घटनाका बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पाटनका बरिष्ठ प्रहरी नायव निरीक्षक गौरव सिंहले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update