बैतडी –सदस्यता शुद्धीकरण गर्दै नेपाल पत्रकार महासंघ बैतडीको १४ औं साधारण सभा आइतबार सम्पन्न भएको छ । पत्रकारिता क्षेत्रमा क्रियाशील नरहेका तर महासंघका सदस्य रहेकाहरुलाई हटाउने निर्णय गर्दै महासंघको साधारण सभा सम्पन्न भएको हो ।
१३२ जना पत्रकार महासंघको शाखामा सदस्य भएपछि रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीको नेतृत्वमा संघर्ष समिति गठन भएको थियो । सोही संघर्षको जगमा टेकेर सदस्यता शुद्धीकरणका लागि अभियान चलेको थियो । सदस्यता शुद्धीकरणको मुद्दाकै कारण बैतडीमा महासंघको अधिवेशन समेत हुन सकेको थिएन् । त्यसपछि महासंघको प्रदेश कार्यसमितिको रहोबरमा खगेन्द्र अवस्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो ।
नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको मात्रै संस्था बनाउनुपर्छ भन्ने अभियान अन्तर्गत ६७ जना बैतडी शाखामा सदस्य रहने निर्णय महासंघको साधारण सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । ६७ जना मध्ये ९ जना अन्य जिल्लामा क्रियाशील रहेकाले उनीहरुको सदस्यता सम्बन्धित ठाउँमा स्थानान्तरण गर्ने निर्णय समेत भएको छ । नेपाल पत्रकार महासंघ बैतडीको १४ औं साधारणसभाले सदस्यता शुद्धीकरण सम्बन्धि गरेको निर्णयलाई महासंघको प्रदेश र केन्द्रिय कार्यसमितिमा पठाउने र अनुमोदनका लागि आग्रह गर्ने निर्णय भएको बताइएको छ ।
महासंघको साधारण सभाको बन्द सत्रले महासंघ बैतडीलाई चलायमान बनाउन सबै क्रियाशील पत्रकारहरु एकजुट भएर अघि बढ्ने निर्णय समेत भएको छ ।
यसअघि नेपाल पत्रकार महासंघ बैतडीका १४ औं साधारण सभाको उद्दघाटन सत्र महासंघ बैतडीका अध्यक्ष खगेन्द्र अवस्थीको अध्यक्षता र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष योगेश रावलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उद्दघाटन सत्रमा बोल्दै प्रदेश अध्यक्ष रावलले महासंघमा सदस्यता शुद्धीकरणको अभियान बैतडीबाट शुरु भएको र अहिले सबै ठाउँमा सदस्यता शुद्धीकरण अभियान सञ्चालन भएको बताए ।




