Sagun Khabar
बैतडीमा शिक्षक मृत्यु प्रकरण : न्यायको माग गर्दै विद्यार्थी आन्दोलित 
तस्बिर: शिक्षक धनबहादुर बिष्टको न्यायको माग गर्दै आन्दोलनमा उत्रेका विद्यार्थी

बैतडी –बैतडीको कृष्ण मावि पाटनका शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणमा न्यायको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । शिक्षक बिष्टको हत्या भएको भन्दै कृष्ण मावि पाटन,  पाटन बहुमुखी क्याम्पस र भीमदत्त प्राविधिक शिक्षालयका विद्यार्थीहरु आन्दोलित भएका हुन् । 

विद्यार्थीहरुले आज पाटन बजारमा नारा जुलुस सहित शिक्षक बिष्टको हत्या भएकाले उनको हत्यामा संलग्नको खोजी गरी दोषीमाथि कारवाहीको माग गरेका हुन् । नारा जुलुस सहित विद्यार्थीहरुले शिक्षक बिष्टलाई न्याय दिनुपर्ने भन्दै प्लेकार्ड समेत बोकेका थिए । 

बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक बिष्ट शनिबार दिउँसो कृष्ण मावि छात्रवास पछाडिको भिरालो ठाउँमा मृत अवस्थामा फेला परेका थिए । ३० बर्षदेखि कृष्ण मावि पाटनमा पढाउँदै आएका शिक्षक बिष्टको मृत्यु नभइ हत्या गरिएको परिवारजनले समेत आशंका गरेका छन् । 

मृतक शिक्षक बिष्टका परिवारले अझै शव बुझ्न मानेका छैनन् । बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउनुपर्ने आफूहरुको माग रहेको मृतकका भतिजा लोकेन्द्र बिष्टले बताए । 

यता इलाका प्रहरी कार्यालय पाटनले भने शिक्षक बिष्ट मृत्यु प्रकरणमा अनुसन्धान भइरहेको जनाएको छ । घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका बरिष्ठ प्रहरी नायव निरीक्षक गौरव सिंहले बताए । 

Aandolit 11671427139.jpg

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update