Sagun Khabar
बैतडीमा बाँदरको आक्रमणबाट एक महिला घाइते 
फोटो :बाँदरको आक्रमणबाट घाइते मीना भट्ट, तस्बिर सौजन्य :सत्यदेव भट्ट

बैतडी –बैतडीमा बाँदरको आक्रमणबाट एक महिला घाइते भएकी छन् । भान्सा कोठामा खाना पकाइरहेका बेला खाना खोस्न आएका बाँदरले आक्रमण गर्दा दोगडाकेदार गाउँपालिका ४ पीपलकोटकी ५० बर्षीया मीना भट्ट घाइते भएकी हुन् । घाइते भट्टको टाउकोमा सात टाँका लगाइएको उनका देवर सत्यदेव भट्टले बताए । 
सोमबार बिहान साढे ११ बजेतिर खाना पकाइरहेका बेला भान्सा कोठामा पसेको बाँदरले महिलामाथि आक्रमण गरेको थियो । घरभित्र पसेको बाँदरलाई धपाउने बेला बाँदरले आक्रमण गरेको हो । 

ती महिलाको पीपलकोट स्वास्थ्यचौकीमा समान्य उपचार गरिएको छ भने थप उपचारका लागि भोलि जिल्ला अस्पातल ल्याउने तयारी भएको भट्टले बताए । उनले भने ‘बाँदरले आक्रमण गर्दा भाउजुको टाउको, औंला र कानमा चोट लागेको छ । रेबिज विरुद्धको सुई लगाउन र थप उपचारका लागि भोलि जिल्ला अस्पताल पुर्याउने तयारी गरेका छौं ।’

मानवबस्तीमै पसेर बाँदरले आतंक मच्चाउन थालेपछि दोगडाकेदार –४ का स्थानीयबासी त्रसित बनेका छन् । बाँदरकै कारण खेतमा बालीनाली लगाउन छोडेपछि बाँदरहरु घरभित्र पस्न थालेका हुन् । यस्तै दशरथचन्द नगरपालिकाका विभिन्न स्थानका नागरिक पनि बाँदरका कारण पीडित हुँदै आएका छन् । उनीहरुले समेत खेतमा बालीनाली लगाउन छोडीसकेका छन् । 

बाँदर नियन्त्रणका लागि स्थानीय सरकारसंग बारम्बार आग्रह गर्दा समेत केही सुनुवाई नभएको स्थानीय नागरिकको गुनासो रही आएको छ । 

भारतले हरिद्वारका बाँदर गाडीमा राखेर बैतडी जिल्लाको महाकाली छेउमा छोड्दा ती बाँदरले बैतडीको दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकामा आतङ्क मच्चाएको किसानको गुनासो छ । 
 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update