Sagun Khabar
शिक्षक मृत्यु प्रकरण : बैतडीको पाटनका विद्यालय आज बन्द रहने 

बैतडी –बैतडीको पाटन नगरपालिका भित्रका विद्यालय आज (मंगलबार) बन्द रहने भएका छन् । कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्टको न्यायका लागि दबाब दिने भन्दै शिक्षकका पेशागत संघसंगठनहरुले विद्यालय बन्दको घोषणा गरेका हुन् । 

शिक्षक बिष्ट मृत फेला परेको चारदिन भइसक्दा समेत घटनाका दोषी पत्ता नलागेको भन्दै विद्यालय बन्दको घोषणा गरिएको हो । शिक्षकका पेशागत संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै शिक्षक बिष्टको मृत्यु शंकास्पद भएकाले निष्पक्ष छानबीन र दोषी पत्ता लगाउनुपर्नेमा जोड दिइएको छ । 

गएको शनिबार सुर्नया गाउँपालिका वडा नं २ घर भएका शिक्षक धनबहादुर बिष्ट कृष्ण मावि छात्रवास पछाडि मृत अवस्थामा फेला परेका थिए । शिक्षक बिष्टको हत्या भएको भन्दै परिवारजनले अहिले सम्म शव बुझेका छैनन् । 
 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update