Sagun Khabar
बैतडीमा शिक्षक मृत्यु प्रकरण : स्थानीय र विद्यार्थीद्वारा ठाउँ–ठाउँमा राजमार्ग अवरुद्ध 

बैतडी –बैतडीको पाटनमा मृत भेटिएका शिक्षक धनबहादुर बिष्टको न्यायका लागि भन्दै बैतडीमा विद्यार्थीहरु आन्दोलित भएका छन् । शिक्षक बिष्टको भवितव्य मृत्यु नभइ हत्या गरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । 

विद्यार्थीहरुले शिक्षक बिष्ट मृत्यु प्रकरणमा दोषी पत्ता लगाइ निष्पक्ष छानबीनको माग गर्दै सतबाँझ, ठाँड, पाटन लगायतका क्षेत्रमा सडक अवरुद्ध पारेका छन् । सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक धनबहादुर बिष्ट गएको शनिबार मृत अवस्थामा फेला परेका थिए । सतबाँझ क्षेत्रमा उनका गाउँले र विद्यार्थीहरुले सडक अवरुद्ध गरेका बताइएको छ । सडकमा टायर बालेर अवरुद्ध पारिएको छ । 

शिक्षक बिष्टको हत्या भएको भन्दै परिवारजनले अहिले सम्म शव बुझेका छैनन् । मृतक बिष्टको शरीरका विभिन्न ठाउँमा चोटपटक रहेकाले उनको हत्या गरिएका मृतकका भतिजा लोकेन्द्र बिष्टले बताए । 

यता प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ । शिक्षक बिष्टको भवितव्य मृत्यु भएको हो वा हत्या गरिएको भन्ने अहिले सम्म नखुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । घटना हुनुभन्दा अघिल्लो दिन शिक्षक बिष्ट पार्टीमा भएकाले सो पार्टीमा सहभागीहरुसंग सोधपुछ भइरहेको उनले बताए । घटनाको प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान अघि बढाएको प्रहरीको दाबी छ । 

यसैबीच बैतडीको पाटन नगरपालिका भित्रका विद्यालयहरु आज बन्द रहेका छन् । शिक्षक बिष्ट मृत्यु प्रकरणको निष्पक्ष छानबीनको माग गर्दै शिक्षकका पेशागत संघसंगठनहरुको आह्वानमा विद्यालय बन्द गरिएको हो । घटनाको अनुसन्धान कार्यलाई अगाडि बढाउन दबाब दिने उद्देश्य सहित आन्दोलनका कार्यक्रम शुरु गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव धनबहादुर महराले बताए । 
 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update