Sagun Khabar
बैतडीमा शिक्षक मृत्यु प्रकरण : पाटन नगरपालिकामा तालाबन्दी 

बैतडी –बैतडीका शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबीनको माग गर्दै आएको संघर्ष समितिले पाटन नगरपालिकामा तालाबन्दी गरेको छ । शिक्षक बिष्ट मृत फेला परेको ५ दिन बितिसक्दा समेत सत्यतथ्य पत्ता नलागेको भन्दै नगरपालिकामा संघर्ष समितिले तालाबन्दी गरेको हो । 

घटनाको सत्यतथ्य छानबीनका लागि स्थानीय सरकारलाई दबाब दिन नगरपालिकामा तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक लिला बिष्टले बताइन् । उनले भनिन् ‘स्थानीय सरकार घटनाप्रति जवाफदेही भएको छैन् । त्यसैले सरकारलाई दबाब दिन हामीले तालाबन्दी गरेका हौं ।’

संघर्ष समितिले मंगलबार आन्दोलनका कार्यक्रम घोषणा गरे अनुरुप आज बिहानैदेखि दशरथचन्द राजमार्ग समेत अवरुद्ध गरिएको छ । यस्तै नगर क्षेत्रभित्रका विद्यालय र बजार समेत बन्द रहेका छन् । 

यही पौष २ गते शनिबार पाटनमा मृत फेला परेका शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेका छन् । पौष १ गते एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका शिक्षक भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक बिष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए ।  आफन्तले मृत्यु नभइ हत्या भएको भन्दै शव बुझेका छैनन् । 

प्रहरीले घटनाको सुक्ष्म तरीकाले अनुसन्धान भइरहेको जनाएको छ ।  मंगलबारदेखि सीआइबीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।  
 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update