Sagun Khabar
बैतडीको मेलौलीमा तालाबन्दी विरुद्ध आन्दोलन, ताला खोल्न नगरपालिकाको आग्रह 

बैतडी –बैतडीको मेलौली नगरपालिकामा गरिएको तालाबन्दी विरुद्ध अर्को पक्ष आन्दोलनमा उत्रिएको छ । वडा नं ७ का स्थानीयहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण हुनुपर्ने माग राख्दै मंगलबार नगरपालिकामा तालाबन्दी गरेका थिए । 

बुधबार वडा नं १ का स्थानीयबासिन्दाहरुले नगरपालिकामा पुगेर तालाबन्दी खोल्नुपर्ने भन्दै आन्दोलित भएका छन् । उनीहरुले नगरपालिकाले १५ शैय्याको अस्पताल वडा नं १ को बिट्ठेनीमा निर्माण गर्नका लागि टेण्डर आह्वान गर्नुपर्ने समेत माग राखेका छन् । 

मेलौलीमा १५ शैय्याको अस्पताल कुन ठाउँमा बनाउने भन्ने बिषयमा स्थानीयहरुबीच विवाद हुँदा अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन् । 

यसैबीच मेलौली नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै तालाबन्दी खोल्न आग्रह गरेको छ । नगर प्रमुख र उपप्रमुख बाहिर रहेका बेला जानकारी समेत नदिएर नगरपालिकामा तालाबन्दी गरिएको बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यवाहक नगर प्रमुख कृष्णदत्त भट्टद्वारा हस्ताक्षरित विज्ञप्तीमा आधारभूत अस्पताल निर्माणका बिषयमा नगरपालिकाले कुनै धारणा बनाइ नसकेको अवस्थामा तालाबन्दी गर्नु ठीक नभएको उल्लेख गरिएको छ । 

नगरपालिकामा गरिएको तालाबन्दी बिना शर्त खोली सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन समेत नगरपालिकाले आग्रह गरेको छ । तालाबन्दी नखोलेमा नगरपालिकाले प्रचलित कानुन अनुसारका कार्य अघि बढाउने समेत विज्ञप्ती मार्फत भनेको छ । 

वार्ता, सहमति, सहकार्य, समन्वय र नागरिक सहभागिता सधैं खुला राखेको अवस्थामा स्थानीय सेवा व्यवस्थापन प्रणालीमा असर पार्ने कुनै खालका गतिविधि नगर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।  

Nagar melauli1671609837.jpg

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update