Sagun Khabar
बैतडीमा शिक्षक मृत्यु प्रकरण : अवरुद्ध यातायात सुचारु 

बैतडी –बैतडीका शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबीनको माग गर्दै गरिएको यातायात बन्द खुलेको छ । संघर्ष समितिले आज बिहानदेखि दशरथचन्द राजमार्गमा गरेको यातायात बन्द सुचारु गर्ने निर्णय भएको संघर्ष समिति संयोजक लिला बिष्टले बताइन् । 

यात्रुहरुको समस्यालाई ध्यानमा राखेर भोलि बिहान १० बजे सम्मका लागि यातायात सुचारु गरिएको बिष्टले बताइन् । यही पौष २ गते शनिबार मृत फेला परेका शिक्षक धनबहादुर बिष्टको भबितव्य मृत्यु नभइ हत्या भएको भन्दै परिवारजनले शव बुझ्न मानेका छैनन् । 

संघर्ष समितिले स्थानीय प्रशासनसंग वार्ता गरेपछि यातायात सुचारु गरेको हो । यातायात सुचारु भएसंगै यात्रुहरु गन्तव्य तर्फ लागेका छन् । 

सुर्नया गाउँपालिका २ ग्वानी घर भइ विगत ३४ बर्षदेखि कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्ट पौष २ गते शनिबार मृत फेला परेको थिए । मृत भेटिनु भन्दा एकदिन अगाडि एकजना शिक्षकको स्वागत भोजमा बिष्ट सहभागी भएका थिए । 

शिक्षक बिष्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि आएको सीआइबीको टोलीले मंगलबारदेखि काम गरिरहेको छ । मंगलबार ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 
 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update