बैतडी –बैतडीका शिक्षक धनबहादुर बिष्टको हत्या नै भएको निष्कर्ष नजिक प्रहरी पुगेको छ । पौष १ गते राति कृष्ण मावि छात्रवासमै शिक्षक बिष्टको हत्या भएको निष्कर्ष नजिक प्रहरी पुगेको हो ।
पौष १ गतेका दिन एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका शिक्षक बिष्ट पौष २ गते शनिबारका दिन मृत अवस्थामा फेला परेका थिए । सुर्नया गाउँपालिका २ ग्वानी घर भइ कृष्ण माविमा पढाउँदै आएका शिक्षक बिष्टको हत्या भएको भन्दै परिवारजनले शव बुझ्न मानेका थिएनन् ।
शिक्षक बिष्टको हत्या भएको भन्दै सोमबारदेखि बैतडीमा आन्दोलन चर्केपछि अनुसन्धानका लागि सीआइबीको टोली पुगेको थियो । अहिले पनि टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
घटनाका बिषयमा तथ्य नजिक पुगिएको र बिहीबार केही कुरा सार्वजनिक हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । प्रहरी र सीआइबीको टोलीले अहिले पनि अनुसन्धान कार्य जारी राखेको उनले बताए । अनुसन्धानका लागि प्रहरीले ४ जना शिक्षक र ७ जना विद्यार्थी नियन्त्रणमा लिएको छ भने शंकास्पद अन्य केही व्यक्तिहरुमाथि अनुसन्धान जारी रहेको छ ।
शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउनुपर्ने माग गर्दै शिक्षकका पेशागत संघसंगठनहरु पनि आन्दोलनमा उत्रेका छन् भने संघर्ष समिति गठन गरेर पाटन नगरपालिकामा तालाबन्दी समेत गरिएको छ ।
लगातार पाटन नगरपालिका क्षेत्रभित्रका विद्यालय बन्द गराएका शिक्षक संघसंगठनहरुले भोलि जिल्लाभरीका शिक्षण संस्था बन्दको आह्वान गरेका छन् ।




