Sagun Khabar
बैतडी घटना : शिक्षक हत्यामा श्रीमान–श्रीमति मुछिए, प्रहरी भन्छ –‘अनुसन्धान जारी छ’

बैतडी –बैतडीमा मृत भेटिएका शिक्षक धनबहादुर बिष्टको हत्या भएको खुलासा भएको छ । सीआइबीको टोली सहित अनुसन्धानमा खटेको प्रहरीले शिक्षक बिष्टको हत्या नै भएको निष्कर्ष नजिक पुगेको र केही अनुसन्धान अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

गएको पौष १ गते राति नै शिक्षक बिष्टको हत्या गरिएको र हत्या लुकाउन भिरालो ठाउँमा लगेर शव फालेको तर्फ अनुसन्धान मोडिएको छ । यो घटनामा श्रीमान–श्रीमति मुछिएका छन् । तर प्रहरीले भने अझै पनि यो कुराको पुष्टि गरेको छैन् । 

शिक्षक बिष्टको मृत्यु प्रकरणमा संलग्न भनिएका श्रीमान–श्रीमति दुवै जनाले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरिसकेको श्रोतको दाबी छ । 

कृष्ण माविको छात्रावासमै बसेर अध्ययन गर्ने युवती र उनका श्रीमान मिलेर शिक्षक बिष्टको हत्या गरेको कुरा बाहिर आएको छ । ती युवती कृष्ण माविकै कम्पयुटर डिप्लोमा चौथो बर्षमा अध्ययन गरिरहेको बुझिएको छ । 

सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक धनबहादुर बिष्ट गएको ३४ बर्ष यता कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए । गएको शनिबार मृत भेटिनु अघि पौष १ गते उनी एकजना शिक्षकको स्वागत भोजमा सहभागी भएका थिए । शिक्षक बिष्टको हत्या भएको भन्दै परिवारजनले शव बुझ्न इन्कार गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । 

गएको सोमबारदेखि शिक्षक, विद्यार्थी र आफन्तहरुले आन्दोलन चर्काएपछि घटनाको अनुसन्धानका लागि सीआइबीको टोली पुगेको थियो । शिक्षक बिष्ट मृत्यु प्रकरणमा अनुसन्धानका लागि ४ जना शिक्षक र ७ जना विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले घटनाको निष्कर्षका बारेमा आज दिउँसो सम्म सार्वजनिक गर्ने तयारी गरेको छ । नियन्त्रणमा लिएका शिक्षक विद्यार्थी अझै पनि नियन्त्रणमै रहेका छन् । 

शिक्षक बिष्टको मृत्यु प्रकरणमा सत्यतथ्य छानबीनका लागि शिक्षकका पेशागत संघसंगठनहरुले तीन दिनदेखि पाटन नगरक्षेत्र भित्रका विद्यालय बन्द गरेका छन् । आज जिल्लाभरी शिक्षण संस्था बन्दको आह्वान गरिएको छ । 

यस्तै घटनाका दोषीलाई पत्ता लगाउन दबाब दिने उद्देश्यले नगरपालिकामा समेत तालाबन्दी गरिएको छ । संघर्ष समितिले सोमबार र मंगलबार राजमार्ग समेत अवरुद्ध गरेको थियो ।  
 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update