Sagun Khabar
बैतडीमा शिक्षक हत्या प्रकरण : शुक्रबारदेखि पाटनका विद्यालय सञ्चालनमा आउने 

बैतडी –बैतडीका शिक्षक धनबहादुर बिष्ट हत्या प्रकरणको सत्यतथ्य छानबीनको माग गर्दै मंगलबारदेखि बन्द रहेका बैतडीको पाटनका शिक्षण संस्थाहरु भोलि(शुक्रबार)देखि सञ्चालनमा आउने भएका छन् । 

संयुक्त शिक्षक संघसंगठनको आह्वानमा बन्द गरिएका विद्यालयहरुमा शुक्रबारदेखि पठनपाठन सुचारु गर्ने निर्णय भएको नेपाल शिक्षक संघ पाटन नगरकार्यसमितिका अध्यक्ष लक्ष्मण बोहराले बताए । बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका शिक्षक बिष्टको हत्यामा संलग्नहरुको पहिचान भइसकेकाले विद्यालय सुचारु गर्ने निर्णय भएको उनले बताए । 

शिक्षक बिष्टको पौष १ गते राति हत्या भएको प्रहरीले पुष्टि गरेको हो । कृष्ण मावि पाटनको छात्रावासमा बस्दै आएकी बिमला बोहरा र उनका श्रीमान प्रजा बोहराले शिक्षक बिष्टको हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update