बैतडी –बैतडीका शिक्षक धनबहादुर बिष्टको हत्या आरोपी प्रजा बोहराले श्रीमतिलाई गरेको व्यवहार सहन नसकेर आवेशमा आइ शिक्षकको हत्या गरेको बयान दिएका छन् । शिक्षक बिष्टको हत्या आरोपमा पक्राउ परेका प्रजा बोहरा र उनकी श्रीमति बिमला बोहरालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
हत्या आरोपी बोहराले प्रहरी समक्ष शिक्षक बिष्टले आफ्नी श्रीमतिमाथि गरेको व्यवहार देखेर सहन नसकी हत्या गरेको स्वीकार गरेका छन् । उनले प्रहरीलाई दिएको बयानमा शिक्षक बिष्टले बिमला बोहरालाई अँगालो हालेको देखेपछि हत्या गरेको बताएका छन् ।
पौष १ गते साँझको समयमा बिमला बोहरा कोठाबाट शौचालय जान्छु भनि निस्केकी र धेरै समयसम्म नआउँदा खोजी गर्दै गएका प्रजाले शिक्षकले बिमलालाई अँगालो हालेको अवस्था फेला पारेको बयान दिएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । उनले आवेशमा आएर शिक्षक बिष्टको हत्या गरेको स्वीकार गरेका छन् ।
शिक्षक बिष्टको हत्यापछि दुवै जना श्रीमान श्रीमति मिलेर उनको शवलाई छात्राबासकै पछाडि रम्बासको झाडीमा फालेको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गर्ने क्रममा आरोपीको बयानका बिषयमा जानकारी दिएका हुन् । उनले भने ‘आरोपीले आफ्नी श्रीमतिलाई अँगालो हालेको देखेपछि सिँढीबाट भुँइमा पछारेर छाती र टाउको हानेर हत्या गरेछन् ।’
पौष २ गते शनिबार मृत फेला परेका शिक्षक बिष्टको हत्याका बिषयमा अनुसन्धान गर्नका लागि प्रहरी निरीक्षक धनदेव साउँद नेतृत्वमा सीआइबीको टोली समेत बैतडी पुगेको थियो । अदालतबाट १० दिनको म्याद थपेर अभियुक्तहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाका बिषयमा अन्यको संलग्नताबारे अहिले केही खुली नसकेको प्रहरीको भनाइ छ ।





