Sagun Khabar
मेलौली अस्पताल विवाद : वार्ताबाटै समस्याको समाधान खोज्नुपर्नेमा नगर प्रमुख चन्दको जोड

बैतडी –बैतडीको मेलौलीमा आधारभूत अस्पताल निर्माणका बिषयमा दुई पक्षबीच झडप भएपछि वार्ता र सम्वादबाट समस्याको समाधान खोज्न आग्रह गरिएको छ । मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले एक विज्ञप्ती जारी गर्दै समस्याको समाधानका लागि वार्ता र सम्वादबाटै अघि बढ्न आग्रह गरेका हुन् । 

नेपाल नगरपालिका संघको अधिवेशनका लागि नगर प्रमुख र उपप्रमुख काठमाण्डौंमा रहेका बेला दुई पक्षबीच भएको झडपप्रति दुःख व्यक्त गरिएको छ । यो बिषम परिस्थितीमा धैर्य र संयमताका साथ वार्ता र सम्वादबाट सहमति खोज्न सबै पक्षलाई आग्रह गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

मेलौली नगरपालिकामा आधारभूत अस्पताल निर्माणका बिषयमा वडा नं १ र वडा नं ७ का स्थानीयबीच विवाद रहँदै आएको छ । वडा नं ७ का बासिन्दाहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा अस्पताल निर्माण हुनुपर्ने बताएका छन् भने वडा नं १ का बासिन्दाले बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने बताउँदै आएका छन् । 

अस्पतालका बिषयमा दुवै पक्षले बेलाबेला नगरपालिकामा तालाबन्दी गर्दै आएका छन् । गएको मंगलबार वडा नं ७ का स्थानीयले तालाबन्दी गरेका थिए । बुधबार तालाबन्दी विरुद्ध वडा नं १ का बासिन्दाले प्रर्दशन गरेका थिए । बिहीबार नगरपालिकामा गरिएको तालाबन्दी खोलेपछि दुवै पक्षबीच झडप हुँदा ३५ जना घाइते भएका छन् । 

वडा नं ७ का २५जना घाइते भएको बुझिएको छ भने वडा नं १ का १० जना घाइते भएका छन् । मेलौलीमा झडपको स्थिती सिर्जना भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update